|
|
चक्र चलचित्रको
लक्ष्मण सुबेदी
बलिउड हिरो-हिरोइनले निर्माणमा पनि आफूलाई सक्रिय बनाउन थालेपछि कलिउडका कलाकारमा पनि बलिउडको प्रभाव परेको छ । निर्माणमा लाग्ने पहिलो कलाकार हुन् विश्व बस्नेत । प्रकाश थापाको निर्देशनमा बनेको सिन्दूरका नायक बस्नेतले अन्याय बनाएका थिए । तत्कालीन सरकारले अन्याय प्रदर्शनमा रोक लगाएपछि अन्यायले अन्याय नै गरेको महसुस गरेपछि नातामा निर्देशक भएर देखिएका थिए । नाता हिट भए पनि निर्देशकका रूपमा विश्व बस्नेत जम्न सकेनन् ।
पाश्र्व गायनमा सफलताको शिखर चुम्दै गर्दा गायक उदितनारायण झा कुसुमेरुमालमा नायक बने । र, पछि आफ्नै लगानीमा पिरती बनाए । पिरतीले दर्शकमाझ पिरती गास्न नसकेपछि उदित पुनः नायक-निर्माता बनेनन् । अहिले फेरि उनी भोजपुरी र नेपाली भाषामा चलचित्र निर्माण गर्दैछन् । तर, ती फिल्ममा आफूले अभिनय नगर्ने बताएका छन् । दाह्री पालेर सानोतिनो भिलेनको रोलमा अभिनय गरिरहेका अशोक शर्मालाई दाह्री काट्न लगाएर उद्धव पौडेलले परिवारमा साइड हिरो बनाए । परिवारको सफलताले हौसिएर शर्माले 'अबदेखि भिलेन खेल्दिनँ, हिरोमै जम्छु' भनेर घोषणै गरे । किनकि पौडेलले शर्मालाई आफ्नो अर्काे चलचित्र गोपीकृष्णमा डबल रोल दिने आश्वासन दिएका थिए । एकल हिरो, त्यसमा पनि डबल रोल गर्न पाउँदा त अशोकको भुइँमै खुट्टा थिएन । तर, भीमकाय शरीर र लामो कपाल पालेको छुट्टै 'गेटअप'मा आफूलाई अघि बढाएका राजेश हमालले भाग खोसे उनको । गोपीकृष्ण बाट 'आउट' भएपछि हिरोमा जम्ने अशोकको सपना त्यसै तुहियो । अनि निर्णय गरे- अब म पनि फिल्म बनाउने ।
राजकुमार शर्मालाई निर्देशक लिएर ट्रक ड्राइभर निर्माण गरे । ट्रक ड्राइभर व्यावसायिक रूपमा सफल भएपछि उनी आफैं निर्देशक बने, सीताबाट । भन्छन्, 'अहिले चलचित्र व्यवसायका लागि समय उपयुक्त देख्दिनँ म । त्यसैले फिल्म बनाएको छैन । तर, प्लानिङ चाहिँ छ ।' मायाप्रीति, वासुदेव आदिमा नायकका रूपमा नाम कमाएका कृष्ण मल्लले आफ्नै निर्देशनमा बादल बनाए । 'प्लेब्वाइ'को भूमिकामा देखिएका मल्ललाई बादलले निर्माता/निर्देशकको 'करिअर'मा बादलै लगाइदियो त्यसपछि उनी पनि सेलाए । लाहुरे, कोसेली, देउता, दुई थोपा आँसुलगायतका फिल्ममा सफल नायक श्रवण घिमिरे नायकभन्दा पनि बढी निर्माताका रूपमा चिनिन्छन् । उनले निर्माण गरेको दर्पणछायाको सफलताको रेकर्ड अहिलेसम्म कुनै अर्काे नेपाली फिल्मले तोड्न सकेको छैन ।
अभिनयका साथै निर्माणमा पनि सक्रिय छन् भुवन केसी । सपनाबाट आफूलाई निर्माताका रूपमा दर्ता गरेका थिए उनले । तर, पारिवारिक किचलोका कारण करोडपति भुवनले निर्माण गरेको पहिलो चलचित्रका रूपमा दरिन पुग्यो । करोडपति, नेपाली बाबु, सुपरस्टार र म तिमीबिना मरिहाल्छु नाम राखेर फिल्म बनाएका छन् उनले । भुवनकै समकक्षी नायक शिव श्रेष्ठ पनि एकताका आफ्नी छोरी सोनालाई नायिका लिएर धून बनाउन कस्सिएका थिए । तर, उनको धून अहिलेसम्म पनि निर्माण भएको छैन । अभिनयमा चर्चित मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पहिलोपटक फिलिम नाम राखेर चलचित्र निर्माण गरे । फिलिम व्यावसायिक रूपमा चिलिम फर्कियो । केही वर्षको अन्तरालपछि हरिवंश आचार्यले अर्का हास्य कलाकार किरण केसीसँग मिलेर तँ त साह्रै बिगि्रस् नि बद्री बनाए । ..बद्री हिट भयो । त्यसपछि फेरि मह दुवै मिलेर जे भो राम्रै भो बनाए । जे भो राम्रै भो ।
हिरोइनका रूपमा जमेकी करिश्मा मानन्धरले ढुकढुकी निर्माण गरिन् । पहिलो चलचित्र ढृकढुकीले व्यावसायिक ढुकढुकी मात्र धाने पनि उनी निराश बनिनन् । त्यसपछि बाबुसाहेब बनाइन्, त्यो पनि डुब्यो त्यसपछि बिरक्तिएकी करिश्मा अहिले अमेरिकामा छिन् । देउता, पृथ्वी, टुहुरो आदि चलचित्रकी सफल नायिका सिर्जना बस्नेत करण-अर्जुनबाट निर्मात्री बनिन् । उनले अभिनय र चलचित्र निर्माण यात्रालाई एकसाथ अघि बढाइरहेकी छिन् । हाल उनी गाउँले गंगाराम र बस्ती नाम राखेर फिल्म बनाउने काममा व्यस्त छिन् । छोटो अवधिमै चर्चामा पुगेका निखिल उप्रेतीले पहिलोपटक नायिका सज्जा मैनालीसँग मिलेर सावधान बनाएर आफूलाई राम्रो 'फिल्म मेकर'का रूपमा दर्ता गरे पनि सावधानले व्यावसायिक सफलता दिलाउन सकेन । अहिले उनले निशाना नामक चलचित्र निर्माण गरिरहेका छन् । 'सधैं हिरो मात्रै कहाँ बनिरहिएला र.. त्यसैले बेलैमा सोचेर चलचित्र निर्माणमा हात हालेको हुँ,' उनी भन्छन् ।

अजम्बरी नाता, हिम्मत, किस्मत र हिफाजत -निर्माणाधीन) चारवटा फिल्म बनाएकी छिन् रेखा थापाले । प्रदर्शित तीनवटै फिल्मले व्यावसायिक सफलता हात पारेको छ । भन्छिन्, 'मैले मानवीय संवेदना बुझेर फिल्म बनाउँछु त्यसलाई दर्शकले मन पराइदिएका छन् ।' नायिका भए पनि निर्मात्री भनेर चिनिने झरना थापाले पनि धर्मसंकट, गोर्खाली, ए मेरो हजुर र तक्दिर बनाइसकेकी छिन् ।
एक जमानाकी सफल नायिका मौसमी मल्ल चलचित्र क्षेत्रबाट झन्डै एक दशक पलायन भइन् । फेरि प्रवेश गरेकी छिन्- निर्मात्रीका रूपमा । गिरफ्तार उनले निर्माण गरेको पहिलो चलचित्र हो जसमा उनी पनि अभिनित छिन् । नायिका मेलिना मानन्धरले करुणाबाट आफूलाई निर्मात्रीका रूपमा परिचित गराइन् । निर्देशक महेन्द्र बुढाथोकीसँग मिलेर ज्वालामुखी निर्माण गरिन् । 'फिल्म बनाउनुभन्दा त टेलिसिरियल नै फाइदा रै'छ' भनेर नायिका मेलिनाले अहिले फेरि उनै निर्देशकसँग मिलेर करुणा-२ बनाइरहेकी छिन् । राजेश हमाल र धीरेन शाक्यले 'फिल्म बनाउँछु' भन्न थालेको आधा दशक बितिसकेको छ । तर, अहिलेसम्म उनीहरू 'निर्माता' बन्ने कुनै संकेत देखिएको छैन । नायक दिलीप रायमाझीले पनि अर्का नायक सुनिलदत्त पाण्डेसँग मिलेर हामी साथीभाइ निर्माण गरिसकेका छन् । सुनिलदत्त नायकभन्दा बढी निर्माता हुन् । उनले यसअघि मेरी आमा, भाग्यलगायतका फिल्म निर्माण गरिसकेका छन् ।
हिरोमा अफर आउन कम भएपछि पछिल्लो समयमा नायक श्रीकृष्ण श्रेष्ठ आफैं चलचित्र निर्माणमा जुटेका छन् । शिव रेग्मीलाई निर्देशक लिएर कहाँ भेटिएला नाम राखी दर्शकको खोजीमा हिँडेका नायक श्रेष्ठको यो चलचित्रको छायांकन पूरा भइसकेको छ । नायकबाट खलनायक हुँदै अभिनय यात्र अघि बढाइरहेका दिनेश शर्मा अन्त्य नाम राखेर डिजिटल चलचित्रका निर्माता बने । त्यसपछि प्रतिघात निर्माण गरे । अहिले उनी महान नाम राखेर अर्को फिल्म बनाउँदैछन् । निर्माता भई नायक खेलेका गणेश उप्रेतीले मोहनी र छोरोपछि अर्काे चलचित्र निर्माण गर्ने जाँगर देखाएनन् । मैदान र बज्रपातमा नायिका भएपछि जेनी कुँवरलाई पनि आफैं चलचित्र निर्माण गर्ने इच्छा जाग्यो । र, बनाइहालिन्-घायल । घायलबाट घायल नभएकी जेनीले अहिले अर्काे चलचित्र निर्माण गरिरहेकी छिन् । नाम रहेको छ-हलचल ।

लगानी गरेर हिरो-हिरोइन बन्नेहरू यहाँ धेरै छन् । त्यसमध्ये कमै मात्र सफल भएको पाइएको छ । हिरो-हिरोइनले बनाएको चलचित्रबाट दर्शकले बढी मात्रामा आशा गर्ने भएकाले त्यसअनुसारको चलचित्र निर्माण गर्न नसक्दा निर्माता बनेका कलाकारहरू आफ्नै कारणले मारमा परेका छन् । हिरो-हिरोइन निर्माता बन्ने क्रम बढ्दो छ । दिनेश शर्मा भन्छन्, 'यही लाइनमा यत्रो वर्ष लागिसकियो । अरू काम जानिएको छैन । सधैं अर्काको फिल्म कति खेल्नू.. त्यसैले आफैंले फिल्म बनाएँ ।' |
|