|
दुइ युवकको अपहरणपछि हत्या
राजधानीको स्युचाटार दुइ युवकको अपहरणपछि हत्या भएको विरोधमा आज बिहानैदेखि राजधानीका विभिन्न ठाउँमा प्रदर्शन र विरोधका कार्यक्रम भइरहेका छन् ।
स्युचाटारका बासिन्दाले युवाको हत्याको विरोधमा कलङ्कीमा गाडी चल्न दिएका छैनन् । बिहानैदेखि उनीहरूले कलङ्की क्षेत्रमा प्रदर्शन गरी राजधानी भित्रने र बाहिरिने गाडी पनि ठप्प पारेका छन् । यसैगरी, लैनचौर र चावहिलमा पनि विद्यार्थीहरूले हत्याको विरोधमा प्रदर्शन गरिरहेका छन् । ती क्षेत्रमा गाडी पनि चल्न सकेका छैनन् । गाडी नचलेका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ ।वाइसिएल
कार्यकर्ताले अपहरण गरेका स्युचाटारका दुइ युवाको हिजो शव भेटिएपछि हत्याको जिम्मा माओवादीले लिनुपर्ने माग राखी विभिन्न समूहहरू आज प्रदर्शनमा उत्रेका हुन् । गोर्खाबाट काठमाडौँ फर्किरहेका बेला गत कात्तिक ४ गते अपहरणमा परेका स्युचाटारका पुष्कर डङ्गोल र निर्मल पन्तको शव हिजो धादिङको दरियाल खोलामा भेटिएको हो ।
यसैगरी, नेकपा माओवादी नजिकको संस्थागत विद्यालय शिक्षक युनियनले सरकारी विद्यालयसरह निजी विद्यालयहरूले तलब नदिएको विरोधमा आज उपत्यकाका सबै शिक्षण संस्थाहरू बन्द गराएको छ ।निजी विद्यालयका सङ्गठनहरूसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको युनियनको भनाइ रहेको छ । युनियनका मागबारे छलफल गर्न निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन केन्द्रीय समितिको बैठक राजधानीमा बसेको छ । |