|
संविधानसभाको उपाध्यक्ष कांग्रेसलाई दिइनु पर्छ -पौडेल
नोवेम्वर १८
नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्ष दलको हैसियतले काङ्ग्रेसले नै संविधानसभाको उपाध्यक्ष बनाइनु पर्ने बताएका छन् ।
दोलखा मिडिया क्लबले सदरमुकाम चरिकोटमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति पौडेलले सत्ता साझेदार दलले संविधानसभाको अध्यक्ष लिएकाले प्रमुख प्रतिपक्ष दलको हैसियतले काङ्ग्रेसले उपाध्यक्ष पाउनुपर्ने बताएका हुन् । उनले संसदीय बाँडफाँडमा पनि सहमति हुनु पर्ने र संविधानसभाको उपाध्यक्ष काङ्ग्रेसलाई नै दिने सहमति भए आफ्नो पार्टीले महिलालाई उपाध्यक्ष बनाउनेसमेत बताए । संविधानसभा बैठकले उपाध्यक्षका लागि मङसिर १३ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ ।
सम्मेलनमा बोल्दै उपसभापति पौडेलले सेना समायोजन र पुनर्स्थापनाका लागि पनि सहमति आवश्यक रहेको बताए । सेना समायोजन विशेष समितिमा काङ्ग्रेसको उपस्थिती अनिवार्य रहेको भन्दै उनले समानताको आधारमा विशेष समिति बने काङ्गे्रस सहभागी हुने स्पष्ट पारे । शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्žयाउन र नयाँ संविधान निर्माणका लागि राजनीतिक सहमति आवश्यक रहेको औंल्याउदै संविधान निर्माणमा सबैको सन्तुलनकारी भूमिका हुनुपर्नेमा पौडेलले जोड दिए ।
उपसभापति पौडेलले माओवादी लडाकुका कमाण्डरलाई प्रधान सेनापति बनाउने भनेर माओवादीले हाउगुजी खडा गरेको बताए । सञ्चारकर्मीहरूको जिज्ञासामा उनले नेपाली सेनामा कुनै पनि हालतमा राजनीतिकरण गर्न नहुने र सैनिक भर्नाको नियम भित्र रहेर योग्य जो कोही व्यक्ति नेपाली सेनामा जान सक्ने बताएका छन् । नेपाली काङ्ग्रेस रामेछापद्वारा हिजो सदरमुकामा मन्थलीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गरेर काठमाडौँ फर्किने क्रममा उपसभापति पौडेलले चरिकोटमा यस्तो प्रतिक्रिया दिएका हुन् । |