|
|
मधेशका बिषयमा दिल्लीमा गोप्य बार्ता
सरकारले तराईका सशस्त्र समूहहरूलाई औपचारिक वार्ता आह्वान गरे पनि दोहोरो संवाद हुन नसकिरहेकै बेला 'मधेस' मुद्धाका विषयमा भारतीय उच्च राजनीतिक तहमा प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन्।
विमस्टेक बैठकका लागि बुधबार दिल्ली पुगेका प्रचण्डले भारतीय समकक्षी डा. मनमोहन सिंह, कंग्रेस आईकी नेतृ सोनिया गान्धीसँग 'शिष्टाचार' भेट गरिसकेका छन् । साथै भारतीय कम्युनिस्ट नेताहरू प्रकाश करात, सीताराम यचुरीलगायत नेताहरूसँग छलफल गरेका छन्।
भारतीय संस्थापनसँग प्रधानमन्त्री प्रचण्डले तराईका सशस्त्र समूहहरूलाई 'प्रोमोट' कूटनीतिक आग्रह गरेका छन्। यस क्रममा प्रचण्डले राजनीतिक मुद्धा बोकेर विद्रोह गरेको समूह नेकपा माओवादी मात्र भएको र बाँकी सबै सशस्त्र समूह राजनीतिक आवरणका आपराधिक समूह भएको तर्क गर्दै भारतीय समकक्षी र संस्थापनका अन्य पक्षसँग ती समूहलाई सहयोग नगर्न आग्रह गर्ने एजेण्डा तय भएको माओवादी विदेश विभाग सूत्रबाट थाहा भएको छ। नेपालको पूर्वी तथा मध्य तराईमा हिंसारत दर्जन बढी समूहलाई शान्तिपूर्ण वार्ताको लागि आह्वान गरी सके 'शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउन सहमत गराउने', अन्यथा भारतमार्फत् कूटनीतिक दवाव सिर्जना गरी हिंसा स्थगन गराउने विकल्पसहित छलफलका लागि दिल्ली पुगेको थाहा भएको छ। सशस्त्र समूहहरूलाई भारतीय संस्थापन र आपराधिक गिरोहको दोहोरो सहयोग रहेको
माओवादीको अध्ययनमा छ। सूत्रका अनुसार, तराई समस्या पूर्णरूपमा भारतसँग जोडिएको निष्कर्षसाथ प्रधानमन्त्री प्रचण्ड त्यसको कूटनीतिक समाधान खोज्न भारत पुगेका हुन्।
प्रचण्डले भारतीय समकक्षी सामु नेपालको शान्तिप्रक्रियाका प्रसङ्गमा तराई समस्याको उठान गरेका थिए। तराईका सशस्त्र समूहका कारण शान्ति निर्माण प्रक्रियामा समस्या भएको र त्यसले भारतलाई पनि असर गर्ने भएकाले समाधानमा सहयोग गर्न भारतसँग आग्रह गरेका छन्। शान्तिपूर्ण वार्ता र कूटनीतिक दवावको दोहोरो नीतिले तराई समस्या समाधान नभए सरकार दमनमा उत्रने योजनामा रहेको बुझिएको छ। सरकारले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह, नेपाल–भारत सांस्कृतिक परिषद्का अध्यक्ष जयप्रकाश प्रसाद गुप्ता, तराईकै माओवादी नेता मातृका यादवलाई सशस्त्र समूहहरूसँग सम्पर्क स्थापित गर्न परिचालन गरेको छ। सरकारले उनीहरूसँग वार्ता गर्न शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्द्धन शर्मा प्रभाकरको नेतृत्वमा समिति पनि बनाइसकेको छ। समिति सदस्य रामचन्द्र झाले भारतमै केही समूहहरूसँग अनौपचारिक वार्ता गरेको बतएका छन्।
माओवादीको अध्यनअनुसार, तराईमा अस्तित्वमा रहेका सबैजसो सशस्त्र समूहहरूसँग तस्कर र आपराधिक गिरोहको घूसपैठ छ। ती सबैमा गरी करिब डेढ सयजना 'भाडाका गुण्डा' परिचालित रहेको रिपोर्ट गुप्ताले प्रधानमन्त्रीलाई दिएको सूत्रको दावी छ। शान्तिपूर्ण वार्ता सफल नभए ती सबैविरुद्ध सुरक्षा कारवाही गर्नुपर्ने सुझाव तराईकै नेताहरूले प्रधानमन्त्रीलाई दिएको बालुवाटार सूत्रले जनाएको छ। ती समूहविरुद्धको कारवाहीका लागि प्रहरी–प्रशासन पनि तयारी अवस्थामा राखिएको र कडा निगरानी पनि जारी रहेको सुरक्षा स्रोतको भनाइ छ।
सूत्रका अनुसार, कम्तीमा सातवटा सशस्त्र समूहमा भारतीय कुख्यात तस्कर दाउद इब्राहिमका प्रतिनिधि रहेका छन्। तिनले राजनीतिक आवरणभित्र गुण्डागर्दी र तस्करीको दोहोरो काम गरिरहेका छन्। उनीहरूले दिउँसो राजनीतिक नारा उछाल्ने, संगठन बनाएको अभिनय गर्ने, प्रहरी– प्रशासनलाई धम्काउने/तर्साउने अनि राति तस्करी गर्ने गरेका छन्'– प्रधानमन्त्रीकै आग्रहमा गठित विशेष अनुसन्धान संयन्त्रमा सहभागी एक अनुसन्धान अधिकृत भन्छन्– 'चन्दाका लागि धम्काउनु त उनीहरूले राजनीतिक परिचय र चर्चाको अभीष्ट मात्र हो।' ती समूहहरू भारतीय सीमावर्ती नेपाली गाउँहरूमा सेल्टर लिएर बसेको र ती गाउँ सुरक्षा निकायको विशेष निगरानीमा रहेको पनि ती अधिकृतको दावी छ। सूत्रका अनुसार, आपराधिक क्रियाकलाप गर्ने समूहले मुख्य आश्रय लिने दुईवटा सीमावर्ती बस्ती नै सार्ने तयारी सरकारले गरिरहेको छ। 'तर यो अन्तिम विकल्पका रूपमा सोचिएको छ'– सूत्र भन्छ– 'मुख्य जोड त कूटनीतिक दवाव र शान्तिवार्तामै हुन्छ।'
स्रोत्- सम्बोधन |
|