|
|
एक सय नौ नेपाली बहराइनमा अलपत्र
काठमाडौं, ११ कात्तिक
वैदेशिक रोजगारीका लागि बहराइन पुगेका एक सय नौ नेपाली अलपत्र परेका छन् । उनीहरू बसेको क्याम्पबाहिर कमान्डो फोर्सले घेरा हालेको बहराइन नेपाली एकता समाजले जनाएको छ ।
बहराइन नेपाली एकता समाजले पीडित नेपालीको उद्धारका लागि साउदी अरबस्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ । बहराइनमा नेपाली दूतावास नभएकाले साउदीस्थित दूतावासलाई समाजले पत्राचार गरेको हो ।
'हामी बिचल्लीमा छौँ । न खानको व्यवस्था छ न सरसफाइको, न बाहिर निष्कन नै पाइन्छ । हाम्रो क्याम्पबाहिरबाट कमान्डो फोर्सले घेरिएको छ र बेलाबेलामा मार्ने, कुट्ने धम्कीको भाषा प्रयोग गरिँदै आएको छ । कुनैबेला कुनै पनि घटना घट्न नसक्ला भन्न सकिन्न,' समाजले दूतावासलाई लेखेको पत्रमा भनिएको छ ।
पीडितहरूले उद्धारका लागि काठमाडौंस्थित श्रम तथा वैदेशिक रोजगार प्रवर्धन व्यवस्था विभागलाई पनि एक सय नौ जनाको हस्ताक्षरसहितको पत्र पठाएका छन् । पत्रमा उनीहरूलाई वैदेशिक रोजगारीका लागि बहराइन पठाउने काठमाडौंस्थित १६ वटा म्यानपावर कम्पनीको नामसमेत उल्लेख गरेका छन् ।
पत्रमा उल्लेख भएअनुसार बहराइनस्थित व्याट्सको सेक्युरिटी सर्भिस कम्पनीमा दैनिक आठ घन्टा काम गर्नुपर्ने तथा मासिक एक सय २० डिनार (२४ हजार नेपाली रुपैयाँ) पाउने सम्झौता गरेर म्यानपावर कम्पनीले उनीहरूलाई बहराइन पठाएको थियो । तर, एक महिनापछि कम्पनीले मासिक ७५ बहराइन डिनार (१४ हजार) मात्रै दिन थालेको उनीहरू ५ कात्तिकदेखि काम छाडेर क्याम्प (सगोलमा बस्ने घर) मा बसेका छन् ।
व्याट्सको सेक्युरिटी सर्भिस कम्पनीका जनरल म्यानेजर महतम सौकात ह्यात खानले प्रहरी ल्याएर धम्क्याउने तथा कुटपिट गर्न दिने गरेको पीडितले श्रम तथा वैदेशिक रोजगार प्रवर्धन व्यवस्था विभागलाई पठाएको पत्रमा उल्लेख गरेका छन् । उनीहरूले आफूहरूलाई स्वदेश फिर्ता ल्याउन पहल गरिदिन तथा अनावश्यक प्रलोभन दिएर बहराइन पठाउने म्यानपावर कम्पनीमाथि कारबाहीका लागि आग्रहसमेत गरेका छन् ।
'हामी एक सय नौजना नेपालीलाई यथाशीघ्र नेपाल फर्काउन सहयोग गरिदिन अनुरोध गर्दछौँ । साथै, अनावश्यक प्रलोभन देखाई विदेश पठाउने म्यानपावर कम्पनीलाई कारबाही र व्याट्सको कम्पनीमा नेपाली कामदार पठाउनमा रोक लगाउनसमेत अनुरोध गर्दछौँ,' पीडितहरूले पत्रमा उल्लेख गरेका छन् । |
|