|
माओवादी अध्यक्ष दाहाल द्धारा सोमबार नया प्रधानमन्त्री निर्वाचित हुने दावी Saturday, July 31, 2010 |
| १५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो सोमबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने दावी गर्नुभएको छ । सभामुख सुवास नेम्वाङलाई शनिबार बिहान भेटेपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, ‘व्यवस्थापिका-संसद्को साउन १७ गतेको बैठकले नयाँ प्रधानमन्त्री चयन गर्नेछ, बहुमत जुटाउन हामीले छलफल जारी राखेका छौं ।’ अबको निर्वाचनबाट पनि प्रधानमन्त्री चयन नभए अन्य दलसँग सहमति कायम गरेर आफ्नो पार्टीले नै सरकार गठन गर्ने अध्यक्ष प्रचण्डले ठोकुवा गर्नुभयो । सिंहदरबारस्थित सभामुख नेम्वाङको कार्यकक्षमा अध्यक्ष प्रचण्ड र सभामुख नेम्वाङबीच नयाँ संविधानलेखन प्रक्रिया र शान्तिप्रक्रियाबारे पनि कुराकानी भएको थियो । त्यसक्रममा सभामुख नेम्वाङले दलहरूबीचमा देखापरेका अप्ठ्यारालाई छिटो अन्त्य गरी संविधान लेखन प्रक्रियालाई अगाडि बढाउन अग्रसरता देखाउन अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभएको थियो । सभामुखका अनुसार अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएमा शान्तिप्रक्रियालाई दुई/तीन हप्तामा टुङ्ग्याउने आधार तयार गर्ने जानकारी दिनुभएको थियो ।
|
|
|