|
हराएका अधिकांश मानिस फेला पर्दैनन् Thursday, July 29, 2010 |
| मकवानपुर- मकवानपुरबाट विभिन्न समयमा हराएका अधिकांश मानिसहरु फेला परेका छैनन्। सरकारी तथा गैरसरकारी संघसंस्थामा मानिस हराएको सूचना आउने गरे पनि अधिकांश फेला परेको रेकर्ड देखिएको छैन। गत आर्थिक वर्ष २०६६/०६७ मा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ३४ जना व्यक्ति हराएको दर्ता भएको छ। जसमध्ये १ जना मात्र फेला परेको तथ्याङ्क रहेको छ। कार्यालयको महिला सेलमा १ सय ६ जना महिला तथा बालबालिका हराएको उजुरी परेको छ। जसमध्ये ८० जना फेला परेको सेलकी प्रमुख रत्ना श्रेष्ठले जानकारी दिनुभयो। त्यस्तै बाल मजदुर सरोकार केन्द्र सिविन बाल हेल्पलाइन मकवानपुरमा ३८ जना बालबालिका हराएको आवेदन परेको छ। हराउनेमध्ये २५ जना बालक र १३ बालिका रहेका छन्। गत आर्थिक वर्ष २०६६/०६७ मा हराएकामध्ये १६ जना मात्र फेला परेका छन्। अघिल्लो वर्ष ४३ जना हराएकामा २५ जना मात्र फेला परेका थिए। बर्सेनि मानिस हराउने गर्छन् तर थोरै मात्र फेला पर्ने गरेका छन्। हराउनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन्। धेरै उजुरीहरु प्रहरीसम्म नआइपुग्ने गरेको अधिकारकर्मीहरुले बताएका छन्। सिविन बाल हेल्पलाइनका कार्यक्रम संयोजक ´वीन्द्र ज्ञवालीका अनुसार गाउँ टोलका बासिन्दाले खोजीको पहल गर्ने र नभेटिएमा संघसंस्थाहरुमा पुग्ने गरेको छ। संघसंस्थाहरुबाट समेत खोजी गर्दा नभेटिएपछि प्रहरीसम्म उजुरी पुग्ने गरेको छ। तथ्याङ्कमै नआई वसेनी सयौँ मानिस हराउने गरेको ज्ञवालीले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामकृष्ण सापकोटाले हराएको समयमा उजुरी गर्ने गरेको भए पनि मानिस फेला परेपछि कार्यालयलाई जानकारी दिने नगरेको बताउनुभयो। तथ्यांकमा कम मात्रै भेटिएको पाइए पनि यथार्थमा बढी नै मानिसहरु फेला पर्ने गरेको उहाँले दाबी गर्नुभयो। हराउनेहरुमा प्रेमविवहा गर्ने र अन्तर्जातीय विवाह गर्ने बढी रहेको पाइएको छ। बालबाललिकाहरुमा अभिभावकविहीन भएका बाटो भुलेका र यातना पाएका बालबालिका रहेको पाइएको छ। हरेक वर्ष हराएर फेला नपरेकाहरुको संख्या ठूलो भएको भन्दै राज्यले खोजतलास गर्नुपर्ने अधिकारकर्मी ´वीन्द्र ज्ञवालीले बताउनुभयो।
|
|
|