|
धितालका हत्यारा पत्ता नलागेकोमा चक्काजामको घोषणा Thursday, July 29, 2010 |
| दाङ,१३ श्रावण/ रेडियो तुलसीपुर सञ्चालक समितिका अध्यक्ष तथा राप्ती अञ्चल सावर्जनिक यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष देविप्रसाद धिताल (हेमराज) का हत्यारा पत्ता नलागेको भन्दै यातायात समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । समितिले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी २० गतेसम्म पनि अपराधी पत्ता नलागेमा २१ गते राप्ती अञ्चलका पाँचै जिल्लामा चक्काजाम गर्ने जानकारी दिएको छ । जसअनुसार राप्तीका दाङ, सल्यान, रुकुम, रोल्पा र प्युठानमा चक्काजाम हुनेछ । २१ गतेसम्म पनि दोषी पत्ता नलागे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत आन्दोलनलाई देशव्यापी गरिने समितिका अध्यक्ष जितेन्द्रबहादुर शाहले बताए । आपराधिक क्रियाकलाप बढ्दै जाँदा व्यवसायी असुरक्षित भएको भन्दै समितिले तुलसीपुरमा सशस्त्र प्रहरी बलको क्याम्प राख्न पनि माग गरेको छ । हत्या भएको एक साता बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसकेकोमा समितिले दुःख व्यक्त गरेको छ । यता जिल्ला प्रहरी कार्यालयले भने सबैबाट पर्याप्त सूचना र सहयोग प्राप्त नहुँदा अनुसन्धानमा समस्या परेकाले प्राप्त सूचना दिएर सहयोग गर्न सार्वजनिक अपिल गरेको छ । बिहीबार जिल्ला प्रहरीले स्थानीय सञ्चार माध्यममार्फत सार्वजनिक अपिल जारी गरी प्रहरीलाई सूचना दिएर सहयोग गर्न अनुरोध गरेको हो । धितालका आफन्त तथा आम नागरिक समाजबाट आबश्यक जानकारी पर्याप्त नहुँदा अनुसन्धानमा कठिनाइ भएको जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले बताए । कतै केही सूचना पाएमा प्रहरी प्रमुख ज्ञवालीको मोवाइल नम्बर ९७४८५२४६९९ या प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरी कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ । धितालको साउन ६ गते उरहरी ४ हेमनगरमा अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको थियो ।
|
|
|