|
नक्कली राहदानी बनाउने समूहका नौ पक्राउ Thursday, July 29, 2010 |
| काठमाडौं,१३ साउन/ नक्कली राहदानी र भिसा बनाउने गिरोहमा संलग्न रहेको अभियोगमा प्रहरीले बुधबार ९ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार दिउसो रत्नपार्कको एमटी जाहिद ट्राभल एजेन्सीमा छापा मारी ४० वटा नक्कली राहदानीसहित दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा मोरङ बयरबनका देवेन्द्र लुइँटेल र महोत्तरी सम्सीका मसी हुल्ला छन्। उनीहरूकै सूचनाका आधारमा राजधानीका विभिन्न स्थानबाट साँझ थप ७ जनालाई पक्राउ गरेको हो। उनीहरूका साथबाट १२ वटा नक्कली राहदानी र महत्वपूर्ण कागजात बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले ट्राभल एजेन्सीबाट श्रम विभागको स्टिकर र विभिन्न संघसंस्थाका नक्कली कागजात समेत बरामद गरेको छ। महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख रणबहादुर चन्दका अनुसार पक्राउपरेकामध्ये लुईटेल गिरोहका मुख्य ब्यक्ति हुन्। हुल्ला उनका सहयोगी हुन्। अनुसन्धानबाट लुइँटेल तीन वर्षदेखि नक्कली राहदानी बनाउन सक्रिय रहेको खुलेको प्रहरी अधिकारी बताउँछन्। हुल्ला एक वर्षदेखि लुईटेलसँग मिलेर काम गर्ने गरेको उनले प्रहरी बयानमा बताएका छन्। प्रहरीले कपन आकाशेधारामा रहेको लुइँटेलको डेरामा छापा मारेर तीन झोला नक्कली कागजपत्र जफत गरेको छ। अधिकांश कागजपत्र उनले बनाएको नक्कली राहदानी प्रयोग गरेर विदेशिएका ब्यक्तिहरुको विवरणहरु रहेका छन्। महाशाखा अधिकारीका अनुसार हुल्ला लामो समयदेखि नक्कली राहदानी बनाउन सक्रिय रहेको जानकारी आएपछि उनलाई एक सातादेखी निगरानीमा राखि महाशाखाले आफ्नै कर्मचारीलाई राहदानी बनाउन ट्राभल्स एजेन्सीमा पठाएको थियो। महाशाखावाट खटिएका ब्यक्ति एजेन्सी पुगेपछि हुल्लाले २० हजार दिने भए पाँच दिनमा राहदानी आउने बताएपछि ग्राहकको भेषमा गएका प्रहरीले नक्कली नाम र दुई वटा तस्वीर र केही रकम एडभान्स छोडेर आएका थिए। अप्रेशनमा संलग्न प्रहरी अधिकारीले भने'हामीले तत्काल राहदानी चाहिने बताएपछि हुल्लाले पांच दिने लाग्ने र एडभान्समा केही रकम छोड्नुपर्ने बताए। हामीले राहदानी आएपछि मात्र पैसा दिन्छौ भन्दा उनले चिन्ता नगर्नुस राहदानी पक्का बन्छ भनेपछि केही रकम र तस्वीर छाडेर आयौं।' महाशाखा प्रहरी अधिकारीका अनुसार हुल्लाले मंगलबार फोन गरेर राहदानी बनाउन अझै केही दिन लाग्ने भने भनेपछि प्रहरीले उनको निगरानी बढाएको थियो। बुधबार ग्राहक बनेका प्रहरीलार्य उनले फोन गरेर आधाघण्टामा राहदानी लिन आउनु भनेर बोलाएपछि प्रहरी टोली उनको एजेन्सीमा पुगेको थियो। मध्यान्ह २ वजे एजेन्सीमा ग्राहक बनेका प्रहरीलाई हुल्लाले राहदानी दिए। जसमा तस्विर एक जनाको थियो, नाम र अन्य विवरण अर्कैको थियो। राहदानीमा जारी गरिएको समय भने ४ वर्ष अगाडिको छ। उनले राहदानीको जारी मिति सन् २००६ र सन् २००७ उल्लेख गरेका थिए। राहदानीमा नेपाल सरकारको छाप र राहदानीको शुरक्षामा प्रयोग गरिने होलोग्राम समेत थियो। उनले राहदानी निकाले लगत्तै एजेन्सी बाहिर बसेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। हुल्ला पक्राउ परेपछि प्रहरीले उनको बयानको आधारमा उनको डल्लुमा रहेको कोठामा छापा मारेको थियो। बयानमा हुल्लाले ६ वर्षदेखि ट्राभल एजेन्सी सञ्चालन गरेको र एक वर्षदेखी शाही थरको ब्यक्तिले राहदानी बनाई दिने गरेको बयान दिएपछि प्रहरीले राहदानी शाही उपनामका लुईटेललाई गौशालावाट पक्राउ गरेको थियो। लुईटेल पक्राउ परेलगत्तै प्रहरीले कपन कपुरधारामा रहेको उनको कोठामा छापा मारेको थियो। कपुरधारामा रहेको एक तले घरलाई लुईटेलले म्यानपावर कम्पनिको कार्यालयको रुपमा सञ्चालक गरेको छापामारेपछि खुलेको थियो। प्रहरीले उनको कोठामा छापा मार्दा किर्ते भिषा बनाउन प्रयोग गरिने सामाग्रि, नेपाल प्रहरीले जारी गर्ने चारित्रिक प्रमाणपत्र, राहदानी र विदेश पठाईएका ब्यक्तिहरुको विवरणहरु फेला पारेको थियो। चन्दका अनुसार लुईटेलको कोठावाट प्राप्त कागजपत्रको आधारमा उनले तीन सय नेपालीलाई पासपोर्ट बनाइदिएर साउद अरब, कुवेत, र इराक पठाएको विवरण खुलेको महाशाखा अधिकारी बताउंछन्। बयानका क्रममा लुइँटेलले आफु तीन वर्षदेखी नक्कली पासपोर्ट र भिषा बनाएर नेपाली र गैर नेपालीलाई विदेश पठाउन सक्रिय रहेको स्विकार गरेको महाशाखाका प्रहरी अधिकारी बताउँछन्।
|
|
|