|
अर्जेन्टिनाको जिम्मेवारी बाटिस्टाले लिने Thursday, July 29, 2010 |
| ब्युनर्स आयर्स- अर्जेन्टिनी फुटबल प्रशिक्षकबाट हटाइएका म्याराडोनाको स्थान कसले लिने भनेर निश्चित भएको छैन, तर अगस्ट ११ मा डब्लिनमा गणतन्त्र आयरल्यान्डविरुद्ध हुने मैत्री खेलमा अर्जेन्टिनाको जिम्मेवारी सर्जियो बाटिस्टाले लिनेछन्। आगामी अर्जेन्टिनी प्रशिक्षकको सूचीमा बाटिस्टाको पनि नाम छ। अर्जेन्टिनी फुटबल संघ (एएफए) ले राष्ट्रिय प्रशिक्षक डिएगो म्याराडोनासँग अनुबन्धलाई नवीकरण नगर्ने भएको हो। संघका प्रवक्ता इमेस्टो चेरक्विज बिएलोले बुधबार म्याराडोनाको अनुबन्ध नवीकरण नगर्ने बताएका छन्। एएफएका अध्यक्ष जुलियो ग्रोनडोनासँग सोमबार भएको तनावपूर्ण बैठकपछि ४९ वर्षे म्याराडोनाको भविष्यलाई लिएर अन्योल उत्पन्न भएको थियो। त्यसपछि स्थानीय संचारमाध्यमले १९८६ को विश्वकप एकल प्रयासमा दिलाउने म्याराडोनाको स्थान कसले लिने भन्ने अड्कल लगाउन सुरु गरेका थिए। 'हिजो भएको लामो छलफलमा अध्यक्षले म्याराडोनासँग महत्त्वपूर्ण विधामा कुराकानी गरेका थिए,' चेरक्विजले भने, 'त्यसपछि कार्यसमितिले प्रशिक्षकका रूपमा म्याराडोनाको नवीकरण नगर्ने सर्वसम्मत निर्णय गरेको थियो।' विश्वकपको क्वार्टरफाइनलमा जर्मनीसँग ४-० ले पराजित भए पनि म्याराडोनाको टोली ब्युनर्स आयर्स फर्कंदा भव्य स्वागत गरिएको थियो। म्याराडोनाका बारेमा ग्रोनडोनाले भनेका थिए, 'अर्जेन्टिनामा म्याराडोना मात्र एक त्यस्ता व्यक्ति हुन्, जसले जे चाहे त्यो गर्न सक्छन्।' ग्रोनडोनाले अर्को विश्वकप अर्थात् आगामी चार वर्षका लागि म्याराडोनालाई प्रशिक्षक बन्न प्रस्ताव गरेका थिए। तर म्याराडोनाले सहायक प्रशिक्षक एलेजान्द्रो मान्कुसोसहित सबै प्रशिक्षण टोलीलाई स्वीकृत गर्ने भए मात्र निरन्तरता दिने बताएका थिए। संचारमाध्यमले जनाएअनुसार ग्रानडोना त्यसमा राजी भए पनि कार्यसमितिले त्यसलाई अस्वीकृत गरिदियो। सहायक प्रशिक्षक मान्कुसोलाई हटाए मात्र म्याराडोनालाई निरन्तरता दिने कार्यसमितिको निर्णयमा म्याराडोना सहमत भएनन्। प्रशिक्षणको कुनै अनुभव नभएका म्याराडोना प्रशिक्षक भएको १८ महिने कार्यकालमा अर्जेन्टिना निकै अप्ठ्यारो स्थितिमा पुगेको थियो। मुस्किलले अर्जेन्टिना विश्वकपमा छनोट भएको थियो। उनले आफ्नो कार्यकालमा १ सयभन्दा बढी प्रयोग गर्दा आलोचना गर्नेहरू अगाडि देखिएका थिए। तर विश्वकपमा सानदार प्रदर्शन गरेपछि उनको खेलाडीले खुलेर समर्थन गरेका थिए।
|
|
|