loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
नेपाली महिला बक्सरविश्व च्याम्पियनसिपमा सहभागी हुँदै
Sunday, July 25, 2010

विश्व च्याम्पियनसिप खेल्ने हरेक खेलाडीको सपना हुन्छ। तर त्यो सपना कमैको मात्र पूरा हुन्छ। दुई नेपाली बक्सर त्यस्तै दुर्लभ सपना पूरा गर्ने क्रममा छन्। नेपालीको खेलकुद इतिहासमै महिला खेलाडीले विश्व च्याम्पियनसिपमा भाग लिन लागेको यो पहिलो अवसर हो। विश्व च्याम्पियनसिप खेल्ने सपना पूरा गर्ने क्रममा एसियन च्याम्पियनसिपको कांस्य पदक विजेता पुलिस क्लबकी अनुराधा लामा र सशस्त्र प्रहरी बल (एपिएफ) की सञ्जु लामाले छनोट चरण नै पार गरेका थिए। एमेच्योर अन्तर्राष्ट्रिय बक्सिङ संघ (एआइबिए) महिला विश्व च्याम्पियनसिपमा बारबाडोसमा सेप्टेम्बर ६ देखि १९ सम्म आयोजना हुँदैछ। नेपाली महिला बक्सरले दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन पाउँदैनन्। यी दुई खेलाडीलाई भाग्यमानी मान्नुपर्छ, जसले सागभन्दा अझ फराकिलो एसियन च्याम्पियनसिपको अनुभव बटुलिसकका छन्। बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा सागमा महिला बक्सिङ समावेश नहुदा खेलाडीले थप अनुभव बटुल्न नपाएको बताउँछन्। दक्षिण एसियाका धेरै राष्ट्रमा महिला बक्सरको संख्या न्युन छ। 'दक्षिण एसियामा नेपाल, भारत र श्रीलंकासँग मात्र महिला बक्सर छ। अन्य मुस्लिम देशमा भने महिला बक्सर संख्या कम छ,' शर्माले भने,' त्यही कारण पनि हामीले सँधै सागबाट नाम फिर्ता लिनुपर्ने बाध्यता छ।' चार देशका खेलाडीले भाग नलिएको खेल सागमा राख्न नपाइने प्रावधान छ। सागमा महिला बक्सिङलाई समावेश गरे त्यसले महिला बक्सिङको विकासमा ठूलो सहयोग मिल्ने शर्मा बताउँछन्। 'हामी सागमा प्रतिस्पर्धा गर्न पाउँदैनौं। यो साह्रै दुःखको पक्ष हो,' आठ वर्षदेखि बक्सिङ खेल्दै आएकी सञ्जु भन्छिन्, 'यदि सागमा हुन्थ्यो भने फर्ममा रहन हामीलाई धेरै मद्दत गर्थ्यो।' सञ्जुले सन् २००४ मा दोस्रो एसियन बक्सिङ च्याम्पियनसिप र तीन वर्षपछि सोही च्याम्पियनसिपको चौथो संस्करणमा अनुराधाले कांस्य पदक जितेका थिए। 'पदक जित्न जति सजिलो हुन्छ त्यसलाई जोगाउन झन् गाह्रो हुन्छ,' चौथो संस्करणमा भागेको हार सम्झँदै सञ्जु भन्छिन्। अन्य धेरै खेलाडीजस्तै विश्व च्याम्पियनसिपमा उनीहरूले पनि पदकको आशा राखेका छैनन्। किनकि विश्व च्याम्पियनसिपमा पदक जित्न सजिलो छैन। 'हामी पदक जित्दैनौं। तर पनि हामी जतिसक्दो टक्कर दिने प्रयास गर्नेछौं,' २५ वर्षीया सञ्जु भन्छिन्, 'एपिएफमा आएदेखि नै म नियमित प्रशिक्षणमा छु, त्यसले प्रदर्शनमा सुधार भइरहेको छ।' एक दसकदेखि बक्सिङमा आबद्ध २८ वर्षीया अनुराधा पुलिसमा गएको पनि आठ वर्ष भैसक्यो। विश्व च्याम्पियनसिपमा उनले ६० र सञ्जुले ५१ केजीमा प्रतिस्पर्धा गर्ने छन्। साग नखेले पनि विश्व च्याम्पियनसिप खेल्दै यी दुईले नेपाली बक्सिङ इतिहासमा आफ्नो नाम भने दर्ता गराउने छन्।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 8

Powered by: