बेइजिङ २८ असार । सरकारी तथा सार्वजनिक संस्थानहरुमा काम गर्ने कर्मचारीहरुलाई आफ्नो सम्पत्ति विवरणका अतिरिक्त श्रीमती र छोराछोरी कहाँ छन् भन्ने समेतको विवरण बुझाउनुपर्ने नयाँ नियम चीनमा लागू गरिएको छ ।
आइतबार लागू गरिएको यो नियम अपि्रलमा सत्तारुढ वरिष्ठ कम्यूनिष्ट पार्टी अधिकारीहरुका लागि ल्याइएको नियम समान छ । तर अहिले मध्यम तहका सरकारी अधिकारी र त्यसमाथिकाहरुलाई समेट्ने प्रयास भएको छ ।
पार्टी सदस्य नरहेको र सरकारी स्वामित्वका व्यापारिक फर्महरुमा काम गर्ने व्यक्तिहरुसमेत यो नियमको दायराभित्र परेका छन् ।
सर्वसधारण चिनियाँ जनताले सरकारी कर्मचारीहरु भ्रष्टाचारमा लिप्त रहेको गुनासो गरिआएका छन् र अहिले कम्युनिष्ट नेतृत्वले राजनीतिक स्थायित्वको लागि बढ्दो भ्रष्टाचारलाई एक चुनौतीको रुपमा स्वीकारेको छ ।
आफ्ना श्रीमान् वा श्रीमतीको नाममा र अरु पारिवारिक सदस्यका नाममा अवैध आर्जनलाई लुकाउने प्रवृतिलाई नियन्त्रण गर्न यो नियम ल्याइएको देखिन्छ ।
यो नयाँ नियम अन्तर्गत वैवाहिक हैसियतमा परिवर्तन वैयक्तिक सम्पत्ति एवम् लगानी र परिवारिक सदस्यहरुद्वारा सचालित व्यवसायको विवरण पेश गर्न सरकारी कर्मचारीहरुलाई अनिवार्य गरिएको छ । रासस/ एपी
|