पँचायतकालमा हाम्रा गाउँतिर निकै टूरमुकाम आउँथ्यो । सीडीओको टूरमुकाम, जिल्ला शिक्षा अधिकारीको टूरमुकाम, माविनीको टूरमुकाम, अलि पछि जापानी एम्बेसडरको टूरमुकाम । आदि आदि । हुँदा हुँदा बहुदलकालमा टूरमुकाम
बढोत्तरी हुँदै जाँदा मन्त्रीको टूरमुकाम सम्म मेरो गाउँले बेहोरेको छ ।
गाउँका प्रधान मेरा छिमेकी थिए । टूरमुकामवाला अक्सर प्रधानबाकहाँ नास्तापानी गर्थे । राति लोकल कुखुरा र ठर्राको जोहो हुन्थ्यो । म झ्याँगमा बसेर शहरवासी टूरमुकामवालाको वार्तालाप सुन्थेँ । ठर्रा लाग्दै गएपछि बात अलि
चर्का हुन्थे ।
त्यो मूला माले रैछ त्यसलाई कहाँ जाक्नुपर्छ मलाई थाहा छ ।
सर त्यो दरबन्दीका विषयमा अलि विचार गर्नपर्ला ।
कम्निष्टेलाई ठेगान लगाउन मैले जानेको छु । आदि आदि ।
बाल्यकालको यो स्मृति भरिएको हुनाले मलाई यो मुकाम शब्ददेखि बडा झोँक चलेर आउँछ । यो टूरमुकाममा सीमित मान्छेको जी हजुरी र हाइहाइ लुकेको जस्तो लाग्छ । जब मेरा गाउँमा मुकाम आउँथ्यो
गाउँका भालेहरु शहीद हुन्थे ।
बोतलहरुको अवसान हुन्थ्यो ।
तर मुकाम युरोपतिर पनि हुँदो रैछ । यतातिर भालेहरुको शहादत होला नहोला म जान्दिन तर यो मूर्गा विरक्त युरोप्रदेशमा यस्ता विषयले खासै महत्व नराख्लान् जस्तो लाग्छ ।
पोहोर साल हाम्रा परराष्टमन्त्री सुजाता पोर्चुगल आइन् । लिस्बोनवासी बन्धुहरुले रोइकराइ गरे ।
दिदी हाम्रा जहान परिवार यता आउन रोइकराइ गरिराख्याछन् । दिल्लीले अडकाउँछ ।
दिदी दिल्लीले सतायो । कहिले यो भएन भन्छ । कहिले त्यो भएन भन्छ ।
दिज्यू कृपा गरी मनमोहन सिँ बाजेलाई कुरा सुनाइबक्सन पर्यो । आदि आदि ।
तर माखो मरेन । कागत अडकिनेको अड्किएको अडकियै छ । यता डँका पिटिएको पिटियैछ । दुइ साता अघि म लिस्बोन जाँदा पत्रकारका सामू सबैको रोइकराइ सुनियो । ओली आए कुरा त्यही । पौडेल बाजे आए कुरा त्यही ।
पोर्चुगलमा दूतावास चाहियो ।
काठमाण्डूमै कागतपत्रको व्यवस्था हुनपर्यो ।
महिनैपिच्छे सरकारलाई कर नबुझाए पोर्चुगलले बस्न दिन्न । उता हिसाब नियम पुर्याएर दिल्लीमा कागत पुर्याए पनि नेपालीहरु झुण्डिएका झुण्ड्यै छन् ।
पोर्चुगलमा बारम्बार आइरहने टूरमुकामहरुसँग जति हारगुहार गरे पनि उही हाम्रा गाउँतिर जस्तो भालेको हड्डी चपाउँदा सम्म हुन्छ हुँछ, बीच बाटोमा पुगेपछि सोँचौँला, अनि सदरमुकाम पुगेपछि फाइल कता छ खोज त भनेजस्तो मुकाम हुन्छ ।
कता कता हामी नेपालीहरु शहीद भालेहरु जस्ता लागे । उपि्रुएका उपि्रुयै छौँ । अन्तमा कोही आएर शहादत बनाउँछ मजा लिन्छ अनि जान्छ । फेरि अर्को आउँछ त्यही गर्छ । यता हामी काम नपाएर रोसियोमा भोकै दौडेका नेपालीहरुको दीनतामा
चारवटा भाषण सुनाएर दामी बोलियो यार भनी मक्ख पर्छौँ ।
नानाभाँतीका सँस्था खोलेर तँ र म भन्नु भन्दा अब कसरी हुन्छ स्वाभीमानी भएर बाँच्न सिकौँ । दूतावास नभएर अन्त कतै प्रदेशबाट पाहुना बोलाएर यहाँनिर दस्तखत गरी पाउँ प्रभू भन्न नपर्ने स्थिति तयार गरौँ । एकस्वरमा
अनि एक लयमा हाम्रा मूठी नउठ्दासम्म मुकामवाला भालेको शुरुवा खाएर फर्किरहन्छन् ।
दाजै, दिज्यू, सर कसैका हातबाट केही हुनेवाला छैन । त्यसको यौटैमात्र उपाय भनेको पोर्चुगलवासी नेपालीको एक स्वर हो ।
जसरी हुन्छ जित्नुलाई महत्व दिनुपर्छ भन्ने र मुकामवालाको मुकाममा मक्ख पर्ने प्रवृत्ति हाइहाइ भएको सँस्कृतिगत समाजमा यस्तो विचारले कहिले प्रवेश गर्ला कुन्नि ?
porto, portugal
16 jun. 2010
Comments (7) |